काठमाडौं, ११ फागुन – नेपाल वायुसेवा निगमका दुइटा ‘न्यारो बडी’ जहाज विदेशमै थन्किएपछि यात्रुहरू प्रभावित भएका छन्
निगमसँग रहेका १५७ सिट क्षमतायुक्त दुइटा ‘न्यारो बडी’ जहाजमध्ये एउटा साउदी अरबको दम्माममा र अर्को चीनमा रोकिएको छ। एयरबस कम्पनीले निर्माण गरेको ‘ए३२०–२००’ सिरिजको ‘९एन–एकेएक्स’ दर्ता नम्बरको जहाज आइतबार दम्मामबाट काठमाडौं आउन लागेको थियो। तर, प्राविधिक समस्या देखिएपछि त्यहीँ ग्राउन्डेड भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
‘नियमित जाँचका क्रममा नोज ल्यान्डिङ गियरमा समस्या देखिएकाले जहाज ग्राउन्डेड गर्नुपरेको हो,’ पौडेलले भने। ‘साउदी एयरलाइन्ससँग मर्मतसम्बन्धी समन्वय भइरहेको छ।’
यस्तै, अर्को ‘९एन–एकेडब्लू’ दर्ता नम्बरको जहाज नियमित मर्मत (सी–चेक) का लागि चीन गएको थियो। आइतबार नै काठमाडौं फर्किने तालिका भए पनि मर्मत खर्च भुक्तानीमा ढिलाइ हुँदा उतै रोकिएको प्रवक्ता पौडेलले बताए।
दुवै जहाज नउड्दा साउदी अरबबाट काठमाडौं आउन लागेका यात्रुहरू प्रभावित भएका छन् भने काठमाडौंबाट दुबई जानुपर्ने उडान पनि प्रभावित भएको छ। निगमले केही यात्रुलाई स्थानीय होटलमा बस्ने व्यवस्था मिलाएको छ भने अन्यलाई वैकल्पिक उडानमार्फत ल्याउने तयारी गरिरहेको छ।
‘दुबई उडान सोमबार वाइड बडी जहाजमार्फत गर्ने योजना छ,’ पौडेलले भने। ‘अन्य अन्तर्राष्ट्रिय उडानमा भने प्रभाव परेको छैन।’
नेपाल वायुसेवा निगमसँग हाल दुईवटा ‘न्यारो बडी’ र दुईवटा २७४ सिट क्षमतायुक्त ‘वाइड बडी’ गरी चार अन्तर्राष्ट्रिय उडान गर्न सक्ने जहाजहरू छन्।