Live

ऐतिहासिक: रास्वपा नेतृत्व र प्रधानमन्त्री उम्मेदवारीबारे ७ बुँदे सहमति

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच राजनीतिक एकतासम्बन्धी औपचारिक सम्झौता भएको छ। केहीबेरअघि सम्पन्न छलफलपछि दुवै पक्षले सात बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्, जसलाई दुवै पक्षले भावी राजनीतिक सहकार्यको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका छन्।

सम्झौताअनुसार रास्वपाको संगठनात्मक नेतृत्व पार्टी सभापति रवि लामिछानेले नै सम्हाल्ने छन्। यससँगै आगामी राष्ट्रिय राजनीतिक प्रतिस्पर्धामा बालेन शाहलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सार्ने विषयमा दुवै पक्षबीच सहमति जुटेको उल्लेख गरिएको छ। यो सहमतिलाई नयाँ राजनीतिक ध्रुवीकरण र वैकल्पिक नेतृत्वको संकेतका रूपमा हेरिएको छ।

सम्झौतापत्रमा पार्टी अध्यक्ष रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरपछि जारी संक्षिप्त जानकारीमा दुवै नेताले पारदर्शिता, सुशासन, संस्थागत सुधार र नागरिककेन्द्रित नीतिमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

राजनीतिक वृत्तमा यो सहमतिको अर्थ र प्रभावबारे विभिन्न अड्कलहरू सुरु भएका छन्। विश्लेषकहरूका अनुसार स्थानीय तहबाट उदाएका बालेन शाह र वैकल्पिक राजनीतिका दाबीदार रास्वपाबीचको यो समझदारीले आगामी निर्वाचन र राष्ट्रिय राजनीतिक समीकरणमा उल्लेखनीय असर पार्न सक्छ। यद्यपि, सहमतिका सात बुँदाको पूर्ण विवरण सार्वजनिक भइनसकेकाले यसको कार्यान्वयन र दीर्घकालीन प्रभावबारे थप स्पष्टता आउन बाँकी नै छ।

दुवै पक्षले निकट भविष्यमै सहमतिका विस्तृत पक्ष सार्वजनिक गर्ने संकेत दिएका छन्। त्यसपछि मात्र यो राजनीतिक एकता कागजी समझदारीमै सीमित रहने कि व्यवहारिक सहकार्यमा रूपान्तरण हुने भन्ने प्रश्नको जवाफ स्पष्ट हुने अपेक्षा गरिएको छ।

७ बुँदे सम्झौताका विषयवस्तुहरु –

१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्धता जनाउने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु रहरु मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टी मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

रवि लामिछाने बालेन शाह
१३ पुस, २०८२
काठमाडौं

Leave a Reply

Don't Miss

रास्वपाको समानुपातिक उम्मेदवारीमा फिर्ताको लहर

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बालेन–कुलमान बैठक बालुवाटारमा जारी, रवि लामिछाने पनि सहभागी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र…