काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङबीच चलिरहेको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने पनि सहभागी भएका छन्।
शनिबार साँझदेखि बालुवाटारस्थित एक निजी निवासमा बालेन र कुलमानबीच संवाद जारी थियो। छलफल चलिरहेका बेला मेयर शाहको आग्रहमा रास्वपा अध्यक्ष लामिछाने त्यहाँ पुगेका थिए। त्यसपछि तीनै नेताबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भइरहेको रास्वपाका एक नेताले जानकारी दिए।
रास्वपा केही समयदेखि काठमाडौं महानगरपालिकाका मेयर शाहसँग सहकार्य तथा एकताको सम्भावनाबारे आन्तरिक छलफलमा जुटेको बताइएको छ। पार्टीभित्र रवि लामिछानेलाई अध्यक्षका रूपमा अघि बढाउँदै, निर्वाचनपछिको राजनीतिक व्यवस्थामा बालेन शाहलाई नेतृत्वदायी भूमिकामा ल्याउने प्रस्तावसमेत छलफलमा आएको थियो।
यद्यपि, मेयर शाहले कुलमान घिसिङसहित जेन–जी पुस्ताका प्रतिनिधिहरूलाई समेत समेटेर संयुक्त सहमति खोजेको नेताहरूको भनाइ छ। सोही पृष्ठभूमिमा हाल तीनै व्यक्तिबीच निरन्तर संवाद भइरहेको बताइएको छ।

