रवि प्रधानमन्त्री हुनुपर्छ, हाम्रो पार्टी सरकारमा सहभागी हुँदैन – हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्।

काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनताले आफ्नो पार्टीलाई सरकारमा होइन, प्रतिपक्षमा बसेर भूमिका निर्वाह गर्न जिम्मेवारी दिएको बताए। सोही म्यान्डेटअनुसार अघि बढ्ने उनले उल्लेख गरे।

“जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएकोले म्यान्डेट अनुसार काम गर्नेछौँ।” उनले भने।

रास्वपाले सरकारमा सहभागी हुन आह्वान गरे के गर्ने भन्ने प्रश्नमा उनले आफ्नो पार्टी सरकारमा नजाने अडान दोहोर्‍याए। यद्यपि, उनले राम्रो काम गर्नेहरूसँग सहकार्य र समर्थन रहने तथा गलत कामको सधैं विरोध गर्ने बताए। यसैबीच उनले रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने आफ्नो धारणा पुनः दोहोर्‍याउँदै प्रतिपक्षका प्रश्नहरूको जवाफ दिन सक्ने व्यक्ति मात्र प्रधानमन्त्री बन्न उपयुक्त हुने बताए।

आफूले चुनावअघि प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएको प्रसङ्गमा उनले अन्य नेताहरूले पनि त्यस्तै अभिव्यक्ति दिएको स्मरण गराउँदै अहिले जनताको निर्णय नै सर्वोपरि भएको बताए।

“केपी ओलीले पनि भनेको हो । गगन थापाले पनि भनेको हो । कुलमानजीले पनि भनेको हो । हर्क साम्पाङले पनि प्रधानमन्त्री बन्छु भनेर भनेको हो।” उनले भने।

उनले अन्त्यमा जनताको निर्णयभन्दा आफू माथि नरहेको उल्लेख गर्दै आफूहरू प्रतिपक्षमै बसेर जनताको पक्षमा आवाज उठाउने बताए।

Leave a Reply

Don't Miss

सिंहदरबार छोडेर बाहिरिइन् प्रधानमन्त्री कार्की, बालुवाटारबाट सामान स्थानान्तरण

प्रधानमन्त्री सुशीला कार्कीले पदबाट बाहिरिने तयारी…

रास्वपाको समानुपातिक उम्मेदवारीमा फिर्ताको लहर

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…