काठमाडौंका विभिन्न बस्तीबाट हटाइने सुकुम्बासीलाई तत्कालका लागि अस्थायी होल्डिङ सेन्टरमा राखेर पहिचान प्रक्रिया पूरा भएपछि नागार्जुनस्थित अपार्टमेन्टमा स्थानान्तरण गर्ने योजना बनाइएको छ। काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार सुरुवातमा विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गरी त्यहाँ राखिनेछ र वास्तविक सुकुम्बासीको पहिचानपछि मात्र स्थायी रूपमा नागार्जुन सारिनेछ। यस कार्यमा काठमाडौं जिल्ला प्रशासनले समन्वय गरिरहेको बताइएको छ।
नागार्जुनमा चार ब्लकमा निर्माण गरिएका अपार्टमेन्ट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालमै बनेका हुन्। तर, सुविधा सम्पन्न हुँदाहुँदै पनि सुकुम्बासीले त्यहाँ बस्न अस्वीकार गरेपछि ती संरचना लामो समयसम्म प्रयोगविहीनजस्तै रहेका थिए। हाल तीमध्ये एउटा ब्लकमा वडा कार्यालय सञ्चालन गरिएको छ भने अर्कोमा मानव सेवा आश्रम राखिएको छ।
बागमती, विष्णुमती र मनहरा नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीलाई अघिल्ला सरकारले पनि अपार्टमेन्टमा सार्न सफल हुन सकेका थिएनन्। नागार्जुनका दुई अपार्टमेन्टमा क्रमशः १०० र १२४ वटा फ्ल्याट रहेका छन्, जसका लागि सरकारले करिब १२ करोड रुपैयाँ लगानी गरेको थियो। तर, स्थानीय तहका केही जनप्रतिनिधि र बासिन्दाले सुकुम्बासीलाई त्यहाँ बस्न दिन नहुने भन्दै विरोध जनाएका थिए।
यसपटक वालेन्द्र शाह नेतृत्वको महानगरले शनिबार र आइतबारभित्र बस्ती खाली गर्न निर्देशन दिएको छ। अटेर गरे बल प्रयोग गरिने चेतावनीपछि केही सुकुम्बासीले सामान सार्न थालेका छन् भने केहीले विरोध जनाइरहेका छन्।
हाल देखिएको सुकुम्बासीको संख्या ठूलो भए पनि पहिचान प्रक्रियापछि वास्तविक संख्या घट्ने सरकारको दाबी छ। त्यसपछि पहिचान भएका सुकुम्बासीलाई नागार्जुनस्थित अपार्टमेन्टमा राखिनेछ र आवश्यक परे थप व्यवस्थाको तयारी पनि गरिने बताइएको छ।

