पोखराका सुलभ कतिलाले अमेरिकाको प्रतिष्ठित न्यूयोर्कको “सेन्ट जोसेफ” विश्वविद्यालयको ब्रुकलिन क्याम्पसमा ‘भ्यालिडिक्टोरियन’ बनेर ऐतिहासिक सफलता हासिल गरेका छन्। उनी विश्वविद्यालयकै सर्वाधिक अंक ल्याउने विद्यार्थी बनेका हुन्। यो सम्मान पाउने पहिलो नेपाली विद्यार्थीका रूपमा उनले नयाँ इतिहास रचेका छन्।

सुलभ सानैदेखि पढाइमा अब्बल थिए। नेपालमा पनि उनले छात्रवृत्तिमा अध्ययन गरेका थिए भने अमेरिकामा पनि १०० प्रतिशत छात्रवृत्ति पाएर कम्प्युटर साइन्स, गणित र डाटा साइन्स अध्ययन पूरा गरेका हुन्।

पढाइसँगै उनले नेतृत्व र समाजसेवामा पनि सक्रिय भूमिका निभाए। उनले कमजोर विद्यार्थीलाई निःशुल्क सहयोग गर्नुका साथै विपन्न बालबालिकालाई गणित पढाएका थिए।
विश्वविद्यालयले उनको मेहनत, नेतृत्व क्षमता र अनुसन्धान कार्यको प्रशंसा गर्दै उनलाई उत्कृष्ट विद्यार्थी घोषणा गरेको हो। भविष्यमा सफल प्राध्यापक बन्ने लक्ष्य बोकेका सुलभ अहिले नेपाली विद्यार्थीहरूका लागि प्रेरणाका स्रोत बनेका छन्।

