३० असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि विदेश जान खोजे उनलाई नरोक्ने संकेत देखिएको छ ।
जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवाको घरमा ठूलोमा मात्रामा रकम जलेको अवस्थामा भेटिएकोबारेमा अनुसन्धान गर्ने भन्दै यसअघि सरकारले देउवा दम्पत्तिलाई विदेश जान रोक्ने तयारी अघि बढाएको थियो । सोही अनुसार सरकारी संयन्त्रले गृहकार्य गरेका थिए ।
तर, सरकारको त्यो तयारीमा अहिले ब्रेक लागेको छ । देउवालाई अहिल्यै विदेश जान रोक्नुपर्ने पर्याप्त आधार–प्रमाण नदेखिएको अनुसन्धान गर्ने संयन्त्रको राय दिएका कारण उनको विदेश यात्रामा प्रतिबन्ध लगाईहाल्ने अवस्था नरहेको एक मन्त्रीले बताए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान भने निरन्तर
यता देउवा दम्पत्तिमाथि सम्पत्ति शुद्धीकरणमाथि भने अनुसन्धान जारी रहेको बताइएको छ । ५ असोजमा देउवाको बुढानिलकण्ठस्थित निवासमा पुगेर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले मुचुल्का गरेर फर्केको थियो ।

